काठमाडौँ । एकदिवसीय शृङ्खला अन्तर्गत आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालको घोषित टोलीमा कप्तान रोहितसहित आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।












