काठमाडौँ, २७ माघ : चाबहिलस्थित ‘एपेक्स लाइभ स्कुल’ को वार्षिक प्रदर्शनी, २०८० का अवसरमा शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुको सृजना अवलोकन गर्दै सहभागीहरु । तस्बिर : प्रकाश सिलवाल/रासस

काठमाडौँ। असल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् ।

चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को वार्षिक प्रदर्शनी २०८० मा अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले संस्कारसहितको शिक्षाले विचार, व्यवहार र आचरण दिने भएकाले शिक्षालयहरूले यस पक्षलाई भुल्न नहुने बताएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वामी डा. केशवानन्द गिरीले मानिसले जतिसुकै ठूलो शिक्षा हासिल गरे पनि उसमा आचरण र व्यवहारको संस्कार नभए त्यसको जीवन निरर्थक हुने भएकाले शिक्षालय सञ्चालक, शिक्षक र अभिभावकले यसलाई गम्भीरतापूर्वक मनन् गनुपर्नेमा जोड दिए । उनले ‘एपेक्स लाइफ स्कुल’ले संस्कृत र नैतिक शिक्षासमेतलाई पढाउने र व्यवहारमा अपनाउन उद्धत गराएकोमा प्रशंसा गर्दै यस्ता पक्षलाई अन्य विद्यालयले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

सो विद्यालयका अध्यक्ष सुवास न्यौपानेले आफूहरूले विद्यार्थीको आध्यात्मिक, नैतिक, बौद्धिक, सामाजिक र शारीरिक विकासका साथै समग्र विकास गराई उनीहरूलाई मस्तिष्कलाई रचनात्मक र सक्रिय तुल्याउन प्रयास गरिरहेको बताए । उनले विद्यालयले हरेक विद्यार्थीमा फरक–फरक प्रतिभा हुन्छ भन्ने पक्षलाई आत्मसात् गरी उनीहरूको सीप र अनुसन्धानात्मक क्षमता विकासमा जोड दिइएको जानकारी दिए ।

विद्यालयका पूर्व विद्यार्थीद्वय रोहण खड्का र कृपा भण्डारीले संस्कारसहितको शिक्षा पाएका कारण आफूहरूको वर्तमान जीवन सहज र प्रगतिउन्मुख भएको अनुभव सुनाए ।