काठमाडौं-प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको बृहत् दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक बहन गरेको बताए।
उनले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गरे।
उनले भने, ‘आगामी दिनमा नेपालको संविधान र प्रचलित कानुनको रोहमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको बृहत् दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक छ। आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन् टड्कारो आवश्यकता हो।’
नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामूलक बनाउनुपर्नेमा उनले जोड दिए। उनले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गरे।
‘नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तले केवल जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामूलक प्रहरी सेवाको अपेक्षा राख्दछ,’ उनले भने, ‘राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो। यसले नागरिक हकको प्रत्याभूति निष्पक्ष र स्वच्छ कानुन कार्यान्वयन, अपराध अनुसन्धान गर्दै लोकतन्त्रको आधारभूत चरित्रलाई समाजमा स्थापित गर्नेछ।’
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताए ।