काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको पुनरागमनलाई केन्द्रमा राख्दै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार काठमाडौंमा करिब ४० हजार सुरक्षाकर्मी परिचालित भएका छन्, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय समावेश छन्। सम्भावित प्रदर्शनहरूलाई मध्यनजर गर्दै राजधानीका प्रमुख स्थानहरूमा सुरक्षा सतर्कता बढाइएको छ।

यसैबीच, नेपाली सेनाले न्यूट्रल भूमिका अपनाउने जनाएको छ। सेनाका अनुसार उनीहरू शान्ति सुव्यवस्था कायम राख्न सतर्क रहे पनि कुनै पनि राजनीतिक घटनामा प्रत्यक्ष संलग्न नहुने स्पष्ट पारिएको छ। नागरिक सुरक्षा सेनाको प्राथमिकता रहने बताइएको छ।

राजधानीमा अहिले चर्को राजनीतिक गतिविधि देखिएको छ। राजाको समर्थनमा र विपक्षमा प्रदर्शन हुनसक्ने संकेत मिलेको छ, जसका कारण सुरक्षा संयन्त्रलाई थप सशक्त बनाइएको छ। सरकारले शान्ति सुव्यवस्था कायम गर्न आम नागरिकलाई संयमित रहन र कुनै अफवाहमा नपर्न आग्रह गरेको छ।

सुरक्षाकर्मीहरूको व्यापक तैनातीबीच आज दिउँसो २ बजेपछि काठमाडौंमा महत्वपूर्ण घटनाक्रम हुनसक्ने आँकलन गरिएको छ। सरकार र सुरक्षा निकायहरू सम्भावित अप्रिय परिस्थितिलाई रोक्न कडा निगरानीमा रहेका छन्।