नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधि सभा सदस्यको निर्वाचनको दिन हवाई सेवा सञ्चालनबारे स्पष्ट पार्दै आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ। देशभरका सबै प्रकारका आन्तरिक उडान सेवा यात्रुको आवश्यकता र अवस्थाअनुसार नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जानकारी दिएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्यपूर्वी गन्तव्य बाहेकका सबै गन्तव्यमा नियमित उडान जारी रहने बताइएको छ। मध्यपूर्वी मुलुकतर्फका उडान भने सम्बन्धित देशको निर्णय, त्यहाँको विमानस्थलको अवस्था तथा वायुसेवा कम्पनीहरूले जारी गर्ने संशोधित उडान तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ।

मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिका कारण ती गन्तव्यका उडानहरू हालका लागि स्थगित भइरहेका छन्। यात्रुहरूलाई यात्रा अघि सम्बन्धित वायुसेवा कम्पनीसँग उडान अवस्थाबारे जानकारी लिन प्राधिकरणले अनुरोध गरेको छ।