काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् ।

भ्रमणको क्रममा उनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले  उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान रेका छन् । मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने ठुलो सङ्ख्याको किरॅाती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन गर्नेछन् ।

यसैगरी जनवरी ७ तारिखमा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्नेछन् ।  उनले मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली संघ संस्था, नेपाली राजदूतावास लगायत सरोकारवालाहरुसंग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने समेत कार्यक्रम रहेको छ।

अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन् ।