काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले नेपाल–भारत सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गरे । वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल रुपमा दर्ज भएको उनको भनाइ छ ।

यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका सन्धि/सम्झौता नेपालको आर्थिक विकासलाई मध्येनजर गरेर हेर्ने हो भने यसले धेरै ठूलो योगदान पुर्याउँछ जस्तो हाम्रो बुझाइ छ, आउने दश वर्षमा १० हजार मेगावाट बिजुली भारत सरकारले किन्ने भनेको छ, दुई महिनाअघि नै भारत सरकारको सङ्घीय क्याबिनेटबाट यो कुरा पारित भएको थियो, अहिले आएर त्यो सम्झौता नेपाली भूमिमा भयो, विकासको दृष्टिकोणले हेर्दा अत्यन्तै महत्वपूर्ण छ ।”

नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको उल्लेख गर्दै ‘नेपाल जलस्रोतको धनी हो, यो हाम्रो सम्पत्ति पनि हो, जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ’ भने । नेपालले उत्पादन गर्ने विद्युत भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक भएको बताउँदै उहाँले समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व रहेको बताए ।

नेकपा (एमाले) का नेता माधव ढुङ्गेलले १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको बताए । त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको कुरा स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।