टोकियो। नेपालीको लागि अध्ययन र रोजगारीको प्रमुख गन्तव्यहरूमध्ये एसियाको सम्वृद्ध मुलुक जापान पनि एक हो। यहाँको विभिन्न सहरमा तथा प्रान्तहरूमा नेपालीहरू रोजगारी तथा अध्ययनको सिलसिलामा छरिएर रहेका छन्।
जापानमा नेपालीहरूको संख्यामा वृद्धिसँगै संगति तथा मण्डलीहरूको पनि स्थापना हुँदै आएको छ।
ख्रीष्टियन नेपाली भाषीहरुको मण्डली र संगतिको पृष्ठभूमिलाई नियाल्ने हो भने सन् १९९४ तिर जापानी मण्डली तोयाहासी शहरमा रहेको गामागोरी व्याप्टिष्ट मण्डलीमा नेपालीहरुले संगति गर्थे। सोही क्रममा करिब २७ जना नेपालीहरुको संख्यामा पहिलो नेपाली संगति सुरु भएको थियो। जुन ऐतिहासिक थियो।
प्रशंसा मण्डली काठमाडौका एल्डर विजय मानन्धरले नेपालीभाषी मण्डली र संगतिको लागि लामो समयदेखि गर्नुभएको प्रार्थनाको उत्तरस्वरूप सन् २००० मा टोकियो व्याप्टिष्टबाट नेपाली घरेलु संगति हुँदै विभिन्न स्थानहरुमा नेपाली भाषी संगति सुरु भयो। सन् २००० मा घरेलु संगतिको रुपमा टोकियोका विभिन्न स्थानहरुमा नेपाली विश्वासीहरुको कोठामा संगति हुने गरेको थियो । यही संगति नै पछि नेपाली टोकियो व्याप्टिष्ट मण्डली भयो । त्यतिबेलासम्म कसैलाई पनि सम्प्रदायको जानकारी थिएन, विस्तारै सदस्य संख्या वृद्धिहुँदै गएपछि एल्सद्दाइ छुट्टिएर गई आफै संगति गर्न थाल्यो ।
सन २००६ मा नेपालीहरु टोकियोमा टोकियो व्याप्टिष्ट चर्च र अन्यत्र पनि छरिएर संगतिमा सहभागी हुन आए, र नेपालीहरुको उल्लेख्य वृद्धिसमेत भएकोले नेपाली संगति मण्डली नै स्थापना भइसकेको र त्यसपछिको इतिहास अहिलेको पुस्तालाई प्रष्ट छ । नेपाली भाषी संगति विभिन्न अन्तर्राष्ट्रिय मण्डलीहरुमा नेपाली भाषीको रुपमा सुरु हुदै थियो, यसै क्रममा सन् २०१४ देखि पहिलो नेपाली भाषी मण्डली ‘उत्साह मण्डली’ स्थापना भयो। जापानको विभिन्न प्रान्त र सहरहरुमा धेरै नेपाली संगति वृद्धि हुँदै थियो। त्यसैले अब नेपाली संगति बीच एकता हुनु पर्छ भन्ने उद्देश्यले सन् २०१६ मा ‘नेपाली ख्रीष्टियन एकता समाज जापान’ स्थापना भयो। तत्पश्चात निरन्तर वार्षिक ख्रीष्टमस कार्यक्रम जापान एकता समाजद्वारा विभिन्न प्रान्त र सहरहरुमा आयोजना हुँदै आइरहेको छ।
जापानमा करिब तीन दशक यता नेपाली भाषी मण्डली र संगतिले व्यापक रुप लिएको छ।यस वर्ष पनि जापानका विभिन्न ठाउँमा भव्यताका साथ ख्रीष्टमस मनाइयो। उत्साह मण्डली, टोकियो मण्डली, बिलभर इस्टन मण्डली ,कोबे नेपाली संगति, ताचिगावा नेपाली संगति, तोचिगी गुन्बकेन नेपाली संगति, हिकारी नेपाली संगति, नागोया मण्डली, ओकिनावा नेपाली संगति, चिबा नेपाली संगति, ओदावरा नेपाली संगति, आरसिआइ मिनमिओसका नेपाली संगति र आराधना नेपाली संगतिले आ -आफ्ना मण्डलीहरूमा ख्रीष्टमस भव्यताका साथ मनाए।
लामो समयदेखिको प्रार्थना र विदेशी भूमिमा संगतिको तृष्णा मेटाउने र बिसाउने छहारी व्यापक रुपमा पाउन सकिन्छ।