वीरगन्ज । वीरगन्जमा ३०२ औँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा विवाद भएको छ । वीरगन्जमा घण्टाघरमा ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा ‘ब्यानर’ राख्ने विषयमा राजावादीहरूबिच नै विवाद भएको हो । पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुई पक्षबिच भनाभन भएको थियो ।

पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए । तर केही बेरमै विवाद फेरि सुल्झाइएको उनले सुनाए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साको अगुवाइमा पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी दिवस मनाएको बताइएको छ ।

जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा ठुलो भूमिका खेलेको स्मरण गरे ।