काठमाडौँ । एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिका संयोजक बेलायत पुगेर फर्किएका छन् । मलेसियन कम्पनी आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई न्यून मूल्यमा कम्पनीको ८० प्रतिशत सेयर बेचेपछि यसबारे छानबिन गर्न गठित समितिका संयोजक नै बेलायत पुगेर फर्किएका हुन् । नेपालको नियामकीय निकायलाई जानकारी नै नदिएर न्यून मूल्यमा ८० प्रतिशत सेयर बेचेर कर छलीको आशङ्कासहित सरकारले मङ्सिर २१ गते छानबिन समिति गठन गरेको थियो । टंकमणि शर्माको नेतृत्वमा मन्त्रीपरिषद्को बैठकले ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले पुस २४ गते भित्र छानबिनको प्रतिवेदन बुझाइसक्नुपर्ने हो । तर, छानबिनको प्रतिवेदन टुङ्गो लगाउन छाडेर संयोजक शर्मा बेलायत पुगेर फर्किएका हुन् ।

सरकारले शर्माको नेतृत्वमा गठन गरेको शक्तिशाली छानबिन समितिमा सचिव फणीन्द्र गौतम, सह–सचिवद्वय बाबुराम भण्डारी र रितेशकुमार शाक्य र आइक्यान अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिका एक सदस्यका अनुसार शर्मा पुस २२ गते बेलायत पुगेका हुन् । २२ गते बेलायत पुगेका शर्मा २७ गते नेपाल फर्किइसकेका छन् । एक महिनाको कार्यावधि पाएको समितिको काम थाती राखेर संयोजक शर्मा एनसेलको सेयर खरिदकर्ता कम्पनी दर्ता भएकै देश पुगेर आएका हुन् ।

यससँगै, समितिको काममाथि नै शङ्का उत्पन्न हुन थालेको छ । समितिकै एक सदस्यले भने, ‘बेलायतकै स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ । समितिको संयोजकको हैसियतमा बसेर बेलायत नै पुगेर आएपछि प्रतिवेदन तयार पार्ने विषयमा शङ्का उत्पन्न हुन सक्छ ।’

तर, समितिकै अर्का सदस्य भने संयोजक शर्मा प्रत्येक वर्ष २ पटक बेलायत जाने गरेको बताउँछन् । ती सदस्यका अनुसार आफ्नो नियमित ‘सेड्यूल’ अनुसार नै शर्मा बेलायत पुगेर फर्किएका हुन् । शर्मा प्रत्येक वर्ष अक्सफोर्ड विश्वविद्यालयको थिंक ट्याङ्क संस्था ‘अक्सफोर्ड सेन्टर फर द स्टडी करप्सन एण्ड ट्रान्सपरेन्सी’को कार्यक्रममा सहभागी हुन २ पटक बेलायत जाने गरेको उनको भनाई छ । सोही कार्यक्रमको सेड्यूल अनुसार बेलायत पुगेका शर्मा शुक्रबार फर्किएको र अब धमाधम काम अघि बढ्ने ती सदस्य बताउँछन् ।

समितिका सदस्यले शर्मा आफ्नो नियमित कार्यक्रमका लागि पुगे पनि बेलायतकै कम्पनीमाथि भइरहेको छानबिन प्रतिवेदन आउनुअघि सोही देश पुगेर फर्किएपछि विभिन्न अड्कलबाजी सुरु भएको छ । जबकि, हालसम्म समितिले गतिलोसँग छानबिन नै अघि बढाएको छैन । शर्मा बेलायत उड्नुअघि १५ दिनको समय थप्न माग गरेका थिए । सोहीअनुसार मन्त्रीपरिषद्को बैठकले समितिको समय १५ दिन थप गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नै नदिएर एनसेलको ८० प्रतिशत सेयर बेचेको थियो । न्यून मूल्यमा सेयर बेचेपछि कर छली भएको आशंका चौतर्फीरुपमा भएको थियो । सोही आशङ्काको बिच सरकारले पूर्व महालेखा परीक्षक शर्माको नेतृत्वमा समिति बनाएको थियो ।