विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।
सडेन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेल सडन डेथका आधारमा छिनोफानो गरिएको हो ।
पहिलो हाफमा इलामका तर्फबाट नवयुग श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच एनआरटीका विदेशी खेलाडी थेभ्स पिसो घोषित भए ।
बिहीबार अन्तिम सेमिफाइल खेलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।