कास्की। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गरेकी छन्। बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार शर्माले तीन हजार छ सय ६० मतभार प्राप्त गरेर विजयी बनिन्।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा कहिले प्रत्यक्ष त कहिले समानुपातिकतर्फ उम्मेदवार बन्दा पनि निर्वाचित हुन नसकेकी शर्मा यसपालि भने सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभामा पुग्न पुग्न सफल भइन्।
विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतको कुश्मा नगरपालिका–१० की शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेपनि सांसद बन्न सकेकी थिइनन्।
माओवादी केन्द्रले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा शर्मालाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । संसद् प्रवेश गर्ने उनको १६ वर्ष अघिदेखिको सपना अहिलेको राष्ट्रियसभा निर्वाचनमा आएर बल्ल पूरा भएको छ।
गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चलेपनि पार्टीले अर्के जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । यसअघि पटक–पटकको प्रयासका बावजुत संसदीय यात्रा तय गर्न नसकेपनि उनी निराश भने भएकी थिइनन्। पार्टी र सङ्गठनको जिम्मेवारीमा सँधै सक्रिय रहँदै आएको शर्माले बताइन्।
विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहेकी शर्मा सहिद परिवारको सदस्य हुन्। ‘आज म धेरै नै खुसी छ, जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ, पार्टी र आन्दोलनमा गरेको योगदानको कदर भएको महसुस भएको छ’, उनले भनिन्, ’अब राष्ट्रियसभा सदस्यका रुपमा कानुन निर्माणदेखि देश र जनताको हितका काममा क्रियाशील रहन्छु।’
यसअघि कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सँधै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उनले बताइन्। शर्माले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन्।
‘हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै उर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु,’ उनले भनिन्। शर्माका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते राज्य पक्षका सुरक्षाकर्मीबाट हत्या भएको थियो।
सुवेदी तत्कालीन नेकपा माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए। विजयसहित अन्य माओवादी कार्यकर्ताको स्याङ्जामा सामूहिक हत्या गरिएको शर्माले बताइन्। ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा पुगेकी थिइन्। उनी २०७४ अघि नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत बनेकी थिइन्।
गण्डकीमा तीन सिटका लागि भएको निर्वाचनमा शर्मासँगै सत्ता गठबन्धनबाटै अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतारअल्पसङ्ख्यकतर्फ काँग्रेसकै पदमबहादुर परियार विजयी भएका छन्। श्रेष्ठले तीन हजार आठ सय आठ र परियारले तीन हजार सात सय ७४ मतभार प्राप्त गरेका छन्। रासस