भरतपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् । नेपाल युवा परिषद्को आयोजनामा माडीमा आयोजित बागमती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको कुरा गर्न नहुने बताए ।

उनले भने, “निराशा बाँडेर हामी कहाँ पुग्छौँ ? के हाम्रो देश विकास नभएकै हो त ? विकास त भएको छ तर निराशा बाँड्नेलाई छुट छैन । योजना दिने हो कार्यक्रम दिने हो । सक्छौँ, सक्नुपर्छ भन्ने हो । सम्भावना नै सम्भावना छ, सम्भावना खोजौँ । आफैँ नेतृत्वमा हुने अनि फेरि निराशा बाँड्ने हो ? आशा जगाउने काम गर्नुपर्छ ।” उनले देशमा युवा विदेश जाने कुरा फेशनजस्तै आएको बताए ।

उनले विदेश जानलाई रोक्ने भन्दा पनि सीप र ज्ञान लिएर विदेश जाने वातावरण तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, “विदेश जानबाट युवालाई रोक्नलाई के गर्ने ? जागिर हो कि हाम्रो बुवाआमाले गरेको पेसा हो कि ? के हो ? एउटा गएपछि अर्काे पनि जानैपर्यो । विदेश जान हुँदैन भन्ने होइन । अमेरिकाका मानिस हाम्रो देशमा काम गर्छन् । अमेरिकाको एउटा आइटी कम्पनी हाम्रो देशमा छ । विश्वभरको काम यहीँ गर्छन् । भारत र चीनका मानिस पनि संसारभर छन् । जानै परे सीप र पढाइ लिएर जाँदा राम्रो हुन्छ ।” उनले सकेसम्म स्वदेशमै रोजगारीमा लाग्नुपर्ने विचार राखे ।

मुख्यमन्त्री जम्कट्टेलले युवाहरूले सामाजिक विकास र ज्ञानलाई बिर्सन नहुने विचार राख्नुभयो । उनले भने, “हामी युवाहरू उमेर र क्षमताको हिसाबले अगाडि छौँ, पछिल्लो सामाजिक सञ्जालको चेतनाको हिसाबले अगाडि छौँ ।” उनले आफू घरमा घाँस काटेर, भकारो सोरेर दुई घण्टाको स्कुल गएको अनुभव सुनाए। उनले भने, “मैले मलको डोको बोकेर लान्थेँ । स्कुलबाट फर्किएर आउँदा पराल लिएर आउनुपर्दथ्यो कि त धान लिएर आउनु पर्दथ्यो । तर अहिलेको युवालाई पढ्ने पूरा समय हुँदा पनि पढ्न सकेका छैनन् ।”

उनले युवा सम्मेलनमा समाजको विकास र सामाजिक अध्ययनबारे छलफल गर्नुपर्ने सुझाव दिए । उनले देशमा केही छैन भनेर निराशा पोख्नेभन्दा पनि यस्तो कार्यक्रम गरौँ भनेर योजना दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री जम्कट्टेलले कार्यक्रममा युवाहरूले नेपालमा डाक्टर पढ्न पाउने कि नपाउने भनेर सडकमा आएर नारा लगाउनुपर्ने बताए ।

त्यस्तै उनले नर्स पढ्न पाउने कि नपाउने भनेर लाइन लगाएर सडकमा उभिन युवाहरूलाई आह्वान गरे । उनले भने, “चालीस हजार विद्यार्थी एसइई पास गरेका छन् । पिसीएल नर्सिङ पढ्छु भनेका छन् । कसले रोकेको हो । एमबिबीएस पढ्ने डाक्टरहरू हजारौँ पास हुनुहुन्छ, बागमती प्रदेशमा डाक्टर र नर्स सबैले पढ्न पाउनुपर्छ । यो पनि तपाईँको छलफलको विषय बनोस् ।”

उनले धेरै युवाहरू मन्त्री र नेता देखेपछि ‘इरिटेट’ भइरहेको बताए । उनले कृषि पेसालाई पनि उद्यमशीलताअन्तर्गत राख्नुपर्ने विचार राखे । उनले भने, “उद्यमशीलता भनेको देशमा जे आवश्यकता छ त्यही छ । नेपालमा कृषि पेसालाई उद्यमशीलता मान्दैनन् । खेती गरेर खाने, तरकारीखेती गर्ने मानिसलाई उद्यमशीलता मान्दैनन् । हामीले गर्ने मूल पेसा नै कृषि नै हो । हेटौँडा कपडा उद्योग खोल्ने हो भने कपासखेती कहाँ गर्ने हो प्रस्ताव ल्याउनुहोस् । बाख्रा पाल्नुस्, तरकारी खेती गर्नुहोस् भन्ने सल्लाह दिन्छु ।”

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्र उत्पादनको नीतिअनुसार किसानलाई नै समुदायमा आधारित बनाउने योजना ल्याएको बताए । उनले प्रदेशमा उद्यमशीलताको कुरा गर्दा कृषि र पर्यटन मुख्य रहेको बताए । उनले भने, “पाँच हजार युवा कृषिमा आबद्ध हुने भनेर आउनोस् म पनि लाग्छु । बजेट पनि छ । कृषिमा संलग्न १० हजार युवा तयार गरौँ ।”

उनले युवालाई गाउँमा शिक्षक हुन जान पनि अनुरोध गरे । विज्ञापन गर्दा कोटा नै नपुग्ने गरी शिक्षकको अभाव रहेको उनले बताए । तीन दिनसम्म माडीमा चल्ने प्रदेश युवा सम्मेलनमा १३ जिल्लाका युवाहरूको प्रतिनिधित्व रहेको छ ।