तनहुँ । तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागि आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको र त्यहाँ चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए ।
मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाइ छ ।