काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो ।

देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने आर्मी अफिसर्स क्लबमा भोजको आयोजना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको स्रोतले जनाएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ । त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ ।

प्रधानमन्त्री पदबाट हटेपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए । तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ उनी गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सरेका थिए । घर मर्मतको काम सकेर उनी निवास सरेका हुन् ।

इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीर शिवाना श्रेष्ठबीच इन्गेजमेन्ट भएको थियो। जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिवसमेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ ।

जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन् । उनले केही कभर गीतमा पनि आवाज दिएकी छन् । जयवीर र शिवानाले लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेको बताइएको छ ।