काठमाडौं। रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ति भएका केही आफन्तहरु वेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् ।

युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ । रुसी सेनामा भर्ति भएर पनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए । उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए । युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ ।

रुसी सेनामा भर्ति भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुवई कतार लगाएतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ति हुन जाने गरेको बताएका छन् ।