काठमाडौँ । गर्भनिरोधक औषधि गर्भ नबसोस् भन्ने उद्देश्यले महिलाले प्रयोग गर्ने अस्थायी नियोजनको एक प्रभावकारी साधन हो। आजकल यो औषधि अविवाहित युवतीहरूले बढी मात्रामा प्रयोग गर्न थालेको पाइएको छ।
भक्तपुरकी २३ वर्षिया कोपिला केसी (नाम, थर परिवर्तन) को निरन्तर रक्तस्राव हुन थालेपछि दुई साताअघि उनी प्रसुति गृह पुगिन् उपचारका लागि ।
उनले गर्भनिरोधक औषधि पटक पटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटक पटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भनिन् ।
पटक पटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन् । गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन् । ‘धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।