काठमाडौं फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई डेब्यु दिएको खेलमा बराबरी खेलेको छ ।
बोर्डोको मैदानमा ग्वेंगाम्पले पहिलो हाफमै लिएको अग्रता गुमाएपछि १-१ को बराबरी खेलेको हो । आठौं मिनेटमा एन्टोइन स्टारोभाले ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् । लौरा बौर्गोइनले ३६ औं मिनेटमा बराबरी गोल गरिन् । पेनाल्टी क्षेत्र बाहिरको प्रहार उनलाई लाग्दा गोलरक्षक बिट भएकी थिइन् ।
दोस्रो हाफको सुरुवातदेखि वार्मअपमा व्यस्त साम्बाले खेलको ७५ औं मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाएकी थिइन् । उनले खेलमा गोल गर्ने अवसर नपाएपनि मिडफिल्डमा झरेर केहि पास साटफेर गरेकी थिइन् ।
साम्बालाई शुक्रबार मात्र ग्वेंगाम्पले अनुबन्ध गरेको आधिकारिक रुपमा जानकारी दिएको थियो । बेन्चमा रहेकी साम्बाले अन्त्यतिर मात्र अवसर पाएकी थिइन् ।
यस बराबरीले आठौँ स्थानमा नै रहेको ग्वेंगाम्पको १३ खेलमा २ जित, ३ बराबरी र ८ हारसहित ९ अंक भएको छ । त्यस्तै पुछारको बोर्डोको १३ खेलमा ६ अंक छ ।
ग्वेंगाम्पले अब शनिबार लिग अन्तर्गत फ्लुरी ९१ को सामना गर्नेछ । फेब्रुअरी १७ मा भने ग्वेंगाम्प र पेरिस सेन्ट जर्मेनको भिडन्त हुनेछ ।