काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।
सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए । उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
सभामुख घिमिरेले विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिवद्धता जरुरी रहेको बताए । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने उनको विश्वास छ ।