काठमाडौँ । द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।
यस अघि शान्ति सेनामा पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको थियो ।
बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति स्थापनामा योगदान पुर्याउने राष्ट्रमा नेपाल पहिलो बनेको हो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकहरूका २२ ओटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । शान्ति सेनामा १० हजार पुर्याउने नेपालले लक्ष्य राखेको छ।
राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक सन् १९५८ मा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्ति सेनामा खटाएको ६५ वर्षमा नेपालले विभिन्न ४३ द्वन्द्वरत मुलुकमा एक हजार ८४७ महिला सैनिकसहित एक लाख ४० हजार ३५४ सैनिक पठाइसकेको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार माली मिसन बन्द भएर अन्य मुलुकका शान्ति सैनिकको कटौतीपछि नेपाल पहिलो राष्ट्र बनेको हो । नेपाली शान्ति सैनिकको पूर्वतयारी, तालिम उत्कृष्ट रहेका कारण र जुनसुकै बेला खटिन सक्ने भएकाले पनि राष्ट्रसंघको रोजाइमा नेपाली शान्ति सैनिक परेको हो।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।