ललितपुर । स्व. विकास अधिकारीको स्मृतिमा ‘विकास शिल्ड राष्ट्रिय व्हील चेयर बास्केटबल च्याम्पियनसिप २०८०’ आयोजना हुने भएको छ।
सामाजिक सेवा विशेष गरी अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० प्रतियोगिता पोखरामा आयोजना हुन लागेको हो ।

उक्त संस्थाका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको दोस्रो वार्षिक स्मृतिको अवसरमा पोखरामा आगामी फागुन २०-२१ (मार्च ३-४) आयोजना हुने उक्त प्रतियोगितामा १५ टोलीको सहभागिता रहने संस्थाका कार्यकारी निर्देशक विजेता अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरीको टिमसहित सातै प्रदेशबाट पुरुषतर्फ ९ टिम सहभागी हुनेछन् भने महिलातर्फ ६ ओटा टिमले प्रतिस्पर्धा गर्ने संस्थाका संस्थापक अध्यक्ष कोषविलास अधिकारीले बताउनुभयो ।

सुन्दरढोका साथी सेवाका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा स्थापित ‘विकास शिल्ड’ अपाङ्गता भएका व्यक्तिहरूका लागि राष्ट्रियस्तरको खेलकुद आयोजना गर्ने एक परियोजना हो ।

स्वर्गीय अधिकारीले आफ्नो जीवन नै अपाङ्गता भएका व्यक्तिहरूको सेवामा समर्पित गर्नुभएकाले उहाँको सम्मानस्वरुप प्रत्येक २ वर्षमा यस्तो प्रतियोगिता आयोजना गर्ने संस्थाका कार्यकारी निर्देशक विजेता अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ४० हजार र तेस्रो पुरस्कार ३० हजार तथा सान्त्वना पुरस्कार ५ हजार प्रदान गरिने छ भने बेस्ट स्कलर पुरस्कार समेत रहेको छ।

संस्थाका अध्यक्ष कोषविलास अधिकारीले आफू अपाङ्गता भएको र अपाङ्गता भएका व्यक्तिहरूलाई हौसला दिन साथै अपाङ्गता भएका व्यक्तिहरू पनि खेलकुदमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।