काठमाडौँ । नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपालको युवा फुटबल टोली र बीच आज शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन् ।
मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिनेछन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो ।
उक्त खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लेसाधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा हिजो शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू खेलका लागि तयार रहेको बताए ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मैत्रीपूर्ण खेल युवा खेलाडीका लागि क्षमता देखाउने गतिलो अवसर रहेको बताएका थिए । प्रशिक्षक एनेसले मैत्रीपूर्ण खेलका लागि आफूहरूले पोखरामा आठ दिन प्रशिक्षण गरेको बताएका थिए ।
चिनियाँ क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानको जिम्मेवारी पाएका मनिष डांगीले पनि आफूहरूले मैत्रीपूर्ण खेलका लागि आठ दिनको प्रशिक्षण गरेको बताएका थिए । उनले टोलीमा युवासँगै अनुभवी खेलाडीको पनि उपस्थिति रहेकाले मैत्रीपूर्ण खेलमा गतिलो प्रदर्शन गर्ने दाबी गरेका थिए ।
यसैगरी चिनियाँ क्लबका प्रशिक्षक बादेङ चेङ लिनले आफ्ना खेलाडी पहिलो पटक ठुलो प्रतियोगिताको अनुभव बटुल्न नेपाल आएको बताएका थिए । चिनिया टोलीका पदाधिकारी दो जी दाङ झुले नेपाल र चीनबिच खेलकुदको माध्यमले नयाँ सम्बध गाँस्न पाएकोमा खुसी लागेको बताएका थिए ।
उनले नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय भएको आफूले जानकारी पाएको पनि बताएका थिए । ‘नेपाली फुटबलको विषयमा हामीले धेरै कुरा सुनेका छौँ । नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय छ । हाम्रा खेलाडीले पनि नयाँ अनुभव बटुल्ने अवसर पाउने छन्,’ उनको कथन थियो ।
खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।