काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् ।
आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको भन्दै उनीहरुलाई स्वदेश फर्काउन सरकार चुकेको आरोप लगाएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा महामन्त्री शर्माले रुसी सेना छोडेको नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठाएको बताए ।
‘मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदासमेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?,’ उनले बैठकमा प्रश्न गरे ।