काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको दुहाइ दिंदै आएपनि जनताले सुशासनको अनुभूति गर्न नपाएको जनगुनासो आउने गरेको छ।
प्रधानमन्त्री दाहालले सरकारका मन्त्री, मुख्यसचिवदेखि सचिवसम्मलाई निर्देशन दिँदा अनुशासन, सुशासन र जनताले सेवाको अनुभूत गर्ने गरी सेवा दिन निर्देशन दिन्छन् ।
तर, प्रधानमन्त्री कार्यालयमै सुशासनमा खडेरी देखिएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीको माघ महिनाको तलब रोकिएको छ । तलब रोकिनुको कारण भने कर्मचारीले समयमा हाजिर नगर्ने गरेको देखियो ।
हाल सचिवालयमा सवारी चालक र पियनसमेत गरी १८ जना कार्यरत छन् । सचिवालयका प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार माघ महिनाको तलब गएको छैन । उनले रातोपाटीसँग भने,‘ किन तलब रोकिएको हाे बुझ्न सकिएको छैन । तलब गएको भए त मोबाइलमा घण्टी बज्थ्यो ।’ उनका अनुसार सचिवालयमा कार्यरत सबै कर्मचारीहरूको माघको तलब गएको छैन ।
प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं सचिव गणेश प्रसाद पाण्डेले आफूलाई तलब रोकिएको कहीँबाट पनि गुनासो नआएको बताए । उनले भने,‘ खै हो र ? मलाई त कसैले गुनासो गरेका छैनन् ।’
उनले सरकारी तलब खाने कर्मचारीहरू सिस्टममा बस्नुपर्ने बताए । ‘ कर्मचारीहरू पनि कुरा बुझ्दै नबुझी उठाउँछन् । काम गर्ने मान्छेले काम गरेको कुरो देखाउनुर्यो नि । सरकारको तलबी कर्मचारीले सिस्टममा बस्नुपर्यो’ पाण्डेले तलब रोक्ने कुनै मनसाय नरहेको बताए ।
प्रधानमन्त्री कार्यालयको लेखा शाखाबाट हाजिर प्रमाणित गराउनुपर्ने भन्दै पत्र गएको सचिवालयमा कार्यरत एक कर्मचारीले बताए ।