काठमाडौं। नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अझै दुई कार्यकाल पार्टी अध्यक्ष बन्ने चाहना रहेको छ।

नेपालकै कम्युनिष्ट पार्टी स्थापनाकालका संस्थापक सदस्य समेत रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पनि आजीवन पार्टी नेतृत्वमा रहने नेतामा पर्दछन् भने लामो समय पार्टी नेतृत्वमा रहने नेतामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पर्छन्।

सिंह र प्रचण्ड २०४२ सालसम्म एउटै कम्युनिष्ट पार्टीमै रहेका थिए। पार्टीभित्र अन्तरद्वन्द्व चर्किएपछि अलग भएका यी दुबै नेताहरु अहिले पनि पार्टी नेतृत्वमै अभिछिन्न रुपमा कायम छन्।

नेकपा (मसाल) को नेतृत्वदायी पद महामन्त्री रहेका सिंह २०३१ सालमा विभाजित कम्युनिष्ट पार्टीको एक घटक चौथो महाधिवेशनदेखि हालसम्मै पार्टी नेतृत्वमै छन्।

यता, सुरुवाती राजनीतिक चरणमा उनकै कार्यकर्ताको रुपमा रहेका प्रचण्ड लगायत उनको समूहले सिंहलाई कारबाही गर्दै २०४२ सालमा नेकपा(मशाल) को नेतृत्वदायी तहमा मोहन वैद्यलाई पुर्‍याएका थिए।