काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले अङ्क बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क लिएका हुन् ।
एभर्टनको मैदानमा प्यालेसले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा प्यालेसले ६२ औँ मिनेटमा अग्रता बनाएको हो । उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर,८४ औँ मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक-एक अङ्कमा चित्त बुझाए ।
बराबरीसँगै प्यालेस २५ खेलबाट २५ अङ्क बनाउँदै तालिकाको १५ औँ स्थानमा छ भने एभर्टन समान खेलबाट २० अङ्क जोड्दै १७ औँ स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरु हुने छ ।