सिड्नी : गस्पल नेपाली चर्च सिड्नीले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव मनाएको छ।
अष्ट्रेलियाको सिड्नी अर्वनमा फेब्रुअरी २५ २०२३ मा स्थापना भएको नेपाली भाषी गस्पल नेपाली चर्चले एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको सो मण्डलीका मुख्य अगुवा जीवन रायमाझीले जानकारी दिनु भएको हो ।

आजभन्दा एक वर्ष अगि ४/५ जना बाट सुरु भएको सानो मण्डली वर्षदिनको अवधिमा झन्डै ४० जनाको हाराहारीमा पुगी संख्यात्मक र गुणात्मक रूपमा आशिषित हुँदै परमेश्वरको महिमा गर्दै अगि बढिरहेको सोही मण्डलीका मुख्य अगुवा जीवन रायमाझीले बताउनु भएको छ।

मुख्य अगुवा रायामजीले भन्नुभयो, “मण्डली यहाँसम्म आइपुग्नमा हाम्रो प्रयास, मिहेनतका साथै त्यसभन्दा अझ माथि परमेश्वरको अनुग्रह, अगुवाइ अनि हामीले प्रार्थनासहित उचालेको कदममा हामीप्रति परमेश्वरको विश्वासयोग्यता हो। ” मुख्य अगुवा रायमाझी अगाडि थप्नुहुन्छ, “हामीलाई केही पनि थाहा थिएन, के गर्ने, कसो गर्ने, कहाँ संगति गर्ने, केही पनि मेसो पाएका थिएनौं, हामीसंग केवल एउटा मात्र कुरा थियो, त्यो हो, ‘परमेश्वर हामीसँग हुनुहुन्छ’ , यसैको आधारमा हामी अघि बढ्यौं, परमेश्वर विश्यासयोग्य भएर उहाँले हामीलाई यहाँसम्म डोर्याउनुभएको छ।”

उक्त वार्षिकोत्सव कार्यक्रममा सिड्नीमा भएका अन्य नेपाली चर्चका पास्टर, अगुवालगयत आमन्त्रित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति, साक्षी, मण्डलीको छोटो इतिहासको प्रस्तुति साथै वचनको सेवकाइ रहेको थियो।

सो वार्षिकोत्सव कार्यक्रममा एक साथ, एक सोर, एक हृदयमा परमेश्वरको प्रशंसा र आराधनाले सेवा हाल गुन्जिदा कार्यक्रम सोचेभन्दा आशिषित भएको सहभागीहरूले बताए।

गस्पल नेपाली चर्चका सक्रिय भाइबहिनीहरूले समय निकालेर सडक, पार्कलगायत विभिन्न सार्वजनिक स्थानहरूमा आवत-जावत गर्ने अष्ट्रेलियाका नागरिकलगायत नेपालबाट अध्ययन, कामलगायत विभिन्न सिलसिलामा अष्ट्रेलिया आएका नेपालीहरूलाई सुसमाचार पुस्तिका बाँड्ने, गीत-भजन र बाइबलबाट सुसमाचार प्रचार गरी चर्चलाई यहाँसम्म ल्याउन ठूलो सेवकाइ र योगदान पुर्याएका छन्। यी जवान भाइ-बहिनीहरुको परमेश्वरप्रतिको अगाध आस्था, विश्वास, परमेश्वरको राज्यविस्तारप्रतिको झुकाव नै मण्डलीले पाएको आशिषहरूमध्ये एक हुन्।

विभिन्न उतार-चढाव, समस्या, अभाव झेल्दै भर्खर पहिलो खुड्किलो पार गरेका छौं, चढ्नु पर्ने खुट्किलाहरू धेरै छन्, सबैको साथ, सहयोग, प्रार्थना र परमेश्वरको अगुवाइ, निर्देशनमा प्रभुको अझ धेरै काम गर्न बाँकी रहेको मुख्य अगुवा रायमाझी बताउनुहुन्छ।

गस्पल नेपाली चर्चले प्रथम वार्षिकोत्सव मनाएको नेपाललगायत अष्ट्रेलियाका विभिन्न चर्चहरूलेसमेत शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमपश्चात प्रेमभोजको आयोजना गरिएको थियो।