काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।

स्वर्गीय आचार्य विगत लामो समयदेखि विरामी थिए । स्व. आचार्यले ४०० भन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन् । गायक तथा संगीतकार स्व. आचार्य स्व. स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्।

स्व. गायक तथा संगीतकार आचार्यको विशेष गरी नेपाली सुगम संगीत तथा भजनमा विशिष्ट योगदान र स्थान रहेको छ ।

स्व. आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जली गर्न राखिने पारिवारिक सुत्रले जनाएको छ।

स्व. आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।