काठमाडौँ । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ ।
लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपालले फ़ाइनलको यात्रा तय गरेको हो।
मंगलबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा १–० ले पछि परेको नेपालले अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो ।
नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता लिएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले ०-१ ले पछि पर्न गएको थियो तर ७६औँ मिनेटमा सावित्रा भण्डारीले शानदार गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को गोल अन्तरमा फाइनलको यात्रा पक्का गरेको हो।
नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा इराकमाथि ५–० गोलको सजिलो जित निकालेको थियो भने अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।