काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत आज नेपाल नेदरल्यान्ड्सविरुद्ध भिड्दै छ । हिजो नामिबियासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले हारेको थियो । टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो भने जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।