काठमाडौँ: सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ ।
पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको छ। विशेष गरी २०३३ सालको राजनीतिक घटनाक्रमलाई समेटेर तयार गरिएको वृत्तचित्रमा कोइराला परिवारका सदस्य, आफन्तजन, शुभचिन्तक एवं राजनीतिक विश्लेषकको भनाइलाई स्थान दिइएको छ ।
राजकाजसम्बन्धी आठ वटा मुद्दा खेम्दै ज्यान जोखिममा राखेर स्वदेश फकर्नुभएका नेता कोइरालामा आधारित वृत्तचित्र ४५ मिनेटको छ । फाउन्डेसनका महासचिव अतुल कोइरालले वृत्तचित्र हेरेपछि नेपालको तत्कालीन राजनीतिक घटनाक्रमसहितको इतिहास बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
छ वर्ष खर्चेर तयार गरिएको वृत्तचित्र निर्माणमा करिब रु ४५ लाख खर्च भएको जानकारी दिँदै महासचिव कोइरालाले वृत्तचित्र अब क्रमशः विद्यालय तथा कलेजमा प्रदर्शन गरिने जानकारी दिनुभयो । यसअघि सो वृत्तचित्र कीर्तिपुर र पोखरामा प्रदर्शन गरिसकेको छ । सो वृत्तचित्रका लेखक उपप्राध्यापक एवं पत्रकार जगत नेपाल हुनुहुन्छ भने संयोजन फाउण्डेसनले गरेको महासचिव कोइरालाले जानकारी दिनुभयो ।