पोखरा । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को पुरुषतर्फको सशस्त्र प्रहरी बल (एपीएफ) र महिलातर्फ सुदुरपश्चिम प्रदेशले जितेका छन्।

सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि हात पार्यो भने महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपविजेता बन्दै दोस्रो स्थानमा चित्त बुझायो भने बागमतीले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। त्यस्तै महिला तर्फ लुम्बिनीले दोस्रो र कोशीले प्रदेशले स्थान हासिल गरे।
प्रथम, द्वितिय र तृतिय स्थान हासिले गर्ने टोलीले क्रमश: ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी र हाइ स्कोररलाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरियो । अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागिताको प्रमाण पत्र प्रदान गरियो।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला टिम ६ गरी १५ टिमको सहभागिता रहेको थियो ।