काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिमण्डलमा ससुराले मन्त्री पद गुमाउँदा ज्वाइँले भने मन्त्री बनेका छन्।
कांग्रेससहितको गठबन्धनमा प्रचण्ड सरकारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका लोसपाका नेता शरतसिंह भण्डारी दुबईमा आयोजित रोजगार मेलामा श्रममन्त्रीको हैसियतमा सहभागी हुन गएकै बेला गठबन्धन भत्किएपछि विदेश भ्रमणकै क्रममा उनले मन्त्री पद गुमाइ भूतपूर्व बनेर स्वदेश फर्किएका छन्।
यता भने उनका ज्वाइँ रास्वपाबाट विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन्।
बुधबार शपथ लिएर पदबहाली गरेका नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठ निवर्तमान श्रममन्त्री भण्डारीका ज्वाइँ हुन्।
तमलोपाका नेता रहेका भण्डारी महोत्तरी २ बाट निर्वाचित सांसद हुन् । मन्त्री श्रेष्ठ भने काठमाडौं ८ मा रास्वपाबाट निर्वाचित भएका हुन्।