आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जर्मन नागरिक क्लारा जेट्किनले प्रत्येक वर्ष विश्वभरि नै महिला दिवस मनाउन जर्मनीमा प्रस्ताव गरेकी थिइन् । त्यसैले जेट्किनलाई अन्तर्राष्ट्रिय महिला दिवसमा प्रवर्तक मान्न सकिन्छ ।

विश्वभरि नै हेर्ने हो भने कुनै न कुनै प्रकारले महिलाहरु विभिन्न प्रकारका घरेलु हिंसाबाट पीडित हुने गरेका छन् भने राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रहरुमा महिलाहरु पुरुषको दाँजोमा पछाडि नै परेका छन् ।

अति विकसित मुलुकहरुमा समेत महिलाहरु पुरुषसरह अधिकारको उपभोग गर्नबाट वंचित भएका छन् भने अति गरिब मुलुकहरुमा त महिला अधिकारको अवस्था भयावह नै छ आजको २१ औं शताब्दीमा पनि ।

यसका बावजूद पनि महिलाहरुमा चेतनाको स्तरमा वृद्धि हुँदै आएको छ भने अवसर पाएमा महिलाहरु पनि कति हदसम्म क्षमतावान बन्न सक्छन् भन्ने प्रमाण विश्वका विभिन्न महिलाहरुले प्रमाणित गरेका छन् ।

हामीले कुनै कुरामा लगानी गर्यौं भने त्यसको प्रतिफलको आशा पनि गर्दछौं । महिलाहरुलाई अवसर दिनुभनेको उनीहरुमा लगानी गर्नु हो । र महिलामा गरिएको लगानी हत्तपत्त खेर जाँदैन भन्ने प्रमाणित पनि उनीहरुले गरिसकेका छन् । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा पनि ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ । यस नाराले नै पुष्टि गर्दछ कि समुन्नत समाजको परिकल्पना गर्ने हो भने महिलामा लगानी गर्नु पर्दछ ।

संसारभरि कुनै न कुनै रुपमा पिछडिएका महिलालाई अवसर दिन सकेमा विश्व नै समुन्नत हुनेमा कुनै द्वुविधा हुने छैन ।

महिलाबिनाको परिवार, महिलाबिनाको समाज, महिलाबिनाको राष्ट्रको कल्पना गर्ने हो भने त्यो अधूरो र अपूरो रहन्छ । महिला र पुरुष रथको दुई पांग्रा भनिएजस्तै पुरुषले पाउने अधिकार, सेवा, सुविधा र पहुँचमा पनि महिलालाई समानरुपमा सहभागी गराउनेतिर सोच्न अब ढिलो गर्नु हुँदैन ।

त्यसैले, ‘महिलामा लगानी गरौँ, सभ्य र समुन्नत समाजको निर्माण गरौँ’, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरिका महिलाहरुको उत्तरोत्तर प्रगति, समृद्धिको कामना गर्दछु ।

जीवन रायमाझी
सिड्नी अष्ट्रेलिया