परिचयः
तपाईंहरुमध्ये कसैले बोलेको बोलीले कसैको मन दुखाएको छ ? वा तपाईंहरुमध्ये कसैले बोल्न नहुने कुरा जानी जानी वा नजानी बोल्नुभएको छ ?
वा हामीलाई पनि कसैले नमिठो, नपच्ने बोली बोलेको वा नमिठो वचन लगाएको छ ?
पक्कै पनि हामीले यस्तो अनुभव गरेका छौं ।
नेपालीमा एउटा भनाइ छ, बन्दुकको गोली र मुखको बोली उस्तै हो, बन्दुकबाट गोली र मुखबाट बोली निस्केर गएपछि त्यो फर्केर आउँदैन ।
त्यसैले हामीले बन्दुक चलाउँदा र हाम्रो मुख चलाउँदा धेरै विचार गर्नुपर्छ ।
आज, हामी यस्तै बोलीको बारेमा परमेश्वरको वचनबाट हेर्नेछौं ।
बाइबल पाठः याकूब ३:१–१२
यो खण्डमा याकूबले जिब्रोको शक्तिको बारेमा कुरा गर्दैछन् । याकूबले यो खण्डमा के भनेका छन् आउनुहोस् हामी यसबारेमा अध्ययन गरौं ।
१.शब्दको शक्ति (याकूब ३:१–५)
याकूबले यो खण्डमा हामीलाई हेर्दा साधारण लाग्ने तर गम्भीर र गहिरो कुरा सम्झाउन खोजेका छन् । हाम्रो मुखमा भएको जिब्रो जो सानो अंग हो, त्यो सानो जिब्रोबाट निस्कने असल वा खराब बोलीको बन्ने कामलाई बिगार्ने, बिग्रिन लागेको कामलाई सुधार्ने क्षमता राख्दछ । त्यो बडेमानको घोडालाई कसले सजिलैसँग नियन्त्रणमा राख्न सक्छ ? त्यति ठूलो जहाजलाई कसले नियन्त्रणमा राख्न सक्छ ? सानो कुराले होइन ? हेर्नुस् त घोडाको मुखमा लगाएको सानो लगामले पूरै घोडालाई नियन्त्रणमा राख्न सक्छ, सानो पतवारले त्यति ठूलो जहाजलाई सजिलैसँग नियन्त्रणमा राख्न सक्छ ।
हाम्रो जिब्रो पनि सानो छ तर यो सानो जिब्रोलाई हामीले लगाम लगाउन सक्यौं र ठीक सँग प्रयोग गर्न सक्यौं भने हामीले ठूला ठूला काम गर्न सक्छौं ।
जंगलमा आगो लगाउन एउटा सलाईको साने काँटीले पर्याप्त हुन्छ । जिब्रो पनि त्यस्तै हो ।
२.जिब्रोको समस्या (याकूब ३:६–८)
याकूबले जिब्रोलाई घातक विषले भरिएको, बेचैन दुष्टको रूपमा व्याख्या गर्दछन् ।
हाम्रो जिब्रोले एकातिर परमेश्वरको प्रशंसा गर्छ जुन हामीलाई गर्न सजिलो पनि हुन्छ तर अर्कोतिर परमेश्वरको स्वरुपमा बनेका अरू मानिसलाई हामी सराप दिन्छौं, उनीहरुको बारेमा नराम्रो कुरा बोल्छौं ।
याकूबले यसलाई स्वच्छ र तीतो पानी दुवै बगाउने झरना सँग तुलना गर्छन्, जुन त्यस्तो नहुनुपर्ने हो ।
३.जिब्रोलाई लगाम लगाउने चुनौती (याकूब ३:९–१२)
याकूबले एउटै जिब्रोले एकातिर परमेश्वरको प्रशंसा गर्ने र अर्को तर्फ अरुलाई चोट पुर्याउनु त्यसको कुनै औचित्य नहुने कुरा बताउँछन् ।
उनी प्रश्न गर्छन् झरनाबाट कसरी ताजा र तीतो पानी बग्न सक्छ ? वा नेभाराको रूखले जैतून फलाउन सक्छ ?
उनी जोड दिन्छन्, हाम्रो जिब्रोलाई वशमा राख्नु हाम्रो लागि सबै भन्दा ठूलो चुनौती हो ।
तर यदि हामीले परमेश्वरको आदर गर्ने जीवन जिउनु चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो
निष्कर्षः
याकूब ३:१–१२ बाट याकूबले हामीलाई हाम्रो मुखबाट निस्कने वचनको अपार शक्ति र विश्वासीको रूपमा हामीले हाम्रो जिब्रोलाई बुद्धिमानीपूर्वक चलाउनु सबै भन्दा महत्वपूर्ण भएको कुरामा जोड दिन्छन् ।
हामीले अरुलाई गाली गर्ने, नराम्रो बोल्ने, अरुको चित्त दुखाउने।, अरुलाई चोट पुर्याउने शब्दहरु हाम्रो जिब्रोबाट निकाल्नुभन्दा जीवन, प्रोत्साहन र आशिष्का शब्दहरू बोल्ने प्रयास गरौं ।
परमेश्वरको सहायताले, हामी हाम्रो जिब्रोलाई वशमा राख्न र उहाँको नामको महिमा गर्न सक्छौं ।
आमेन ।