जनकपुरधाम: मिथिला कलाको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा चार दिवसीय प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र मधेस प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकपुरथामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा आजदेखि प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको समुद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले मोफसलका कलकर्मीको सिर्जनाको पहिचान र सम्मानका लागि पहिलो पटक मधेश प्रदेशमा ललितकला प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा रहेको अवसरलाई नेपालका सबै भूभागमा लैजान स्थानीयस्तरमा काम गर्ने सम्बद्ध संस्थासँगको सहकार्यमा यस्ता अभियान गर्ने १५औँ प्रज्ञासभाको निर्णयअनुसार आफूहरू प्रादेशिकस्तरमा आएको जानकारी दिनुभयो ।
कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले चार दिनसम्म चल्ने कला प्रदर्शनीले स्थानीय प्रतिभाको पहिचान गरी हौसला बढाउन उपयोगी हुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष कापडीले ललितकला प्रतिष्ठानलाई पहिलोपटक काठमाडौँभन्दा बाहिर ल्याइएकामा प्रशंसा गर्दै स्थानीय कलाकर्मीको प्रोत्साहनका लागि आफूहरू सधैँ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मिथिला कला संस्कृतिको विकासका लागि उपमहानगरपालिका सधैँ कलाकर्मीका साथमा रहेको बताउनुभयो । उहाँले मैथिली र भोजपुरी सभ्यतासँग जोडिएका सम्पदाको पहिचान र संरक्षण गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, डा देवनारायण यादव, हरिवन नगरपालिका सर्लाहीका उपप्रमुख हरिमाया घलान, कलाकर्मी रुबी पाठक, जीवयदत्त मणीलगायतले मधेसको परम्परा, संस्कृति र सभ्यतालाई झल्काउने कलाको संरक्षण गर्न तीन तहका सरकार र सरोकारवालाको पहलकदमी जरुरी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका आठै जिल्लाका कलाकर्मी एक सयभन्दा बढी चित्रकार तथा कलाकर्मीहरूको सहभागिता रहेको छ । उद्घाटन समारोहमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै कलाकर्मीहरू सीतादेवी कर्ण, मञ्जुला ठाकुर, सुलोचना कर्ण, विजयदत्त मणि र मुन्नी ठाकुरलाई सम्मानसमेत गरिएको थियो ।