काठमाडौँ। सडक प्रचारकको उपनामले चिनिनुभएका जीवन रायमाझीलाई आज एक समारोहकाबीच पास्टर अभिषेक गरिएको छ।
नेपाल गस्पल चर्च, कुसुन्तीका पास्टर विशाल सुब्बाले रायमाझीलाई पास्टर अभिषेक गर्नुभएको हो।
विगत केही वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका रायमाझीले अष्ट्रेलियाको सिड्नीलगायतका सहरमा समेत सडक प्रचार गरी चर्चामा आउनुभएको थियो।
रायमाझीले सिड्नीमा गत वर्षदेखि गस्पल नेपाली चर्च स्थापना गरी संगति दिंदै आउनु भएको छ। ४/५ जनाबाट सुरु भएको सो मण्डलीमा एक वर्षको अवधिमा झन्डै ४० जनाको संख्या सदस्य रहेका छन्।
पास्टर अभिषेकपछि परमेश्वरले सेवकाइमा नयाँ आयामकासाथ थप जिम्मेवारी दिनुभएको नव पास्टर रायमाझी बताउनुभयो। उहाँले भन्नुभयो, “मण्डली परिवार, इष्टमित्र, शुभचिन्तक, सहकर्मीहरूको प्रार्थना, सहयोग र परमेश्वरको अनुग्रहको कारण सेवकाइमा बढ्दै जान सकेको छु, सिक्नुपर्ने र गर्नुपर्ने धेरै कुराहरू छन्, थप जिम्मेवारीका साथ परमेश्वरको राज्य विस्तारमा अझै प्रभावकारी ढंगबाट अघि बढ्नु छ।” सेवकाइमा एक्लै अघि बढ्न नसकिने र एक-अर्काको साथ र सहयोग चाहिने उहाँको भनाइ छ।
पास्टर रायमाझीले भन्नुभयो, “सुसमाचार सुनाउनेदेखि प्रभुमा हुर्काउने र सेवकाइको यो अवस्थासम्म ल्याइपुर्याउनुमा पास्टर विशाल सुब्बाको ठूलो लगानी र मिहेनत रहेको छ, म उहाँप्रति सदैव आभारी छु।”
पास्टर जीवन रायमाझी नेपाल गस्पल चर्चका सदस्य हुनुहुन्छ।