काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले ख्रीष्टियनहरूको पर्व इस्टरको उपलक्ष्यमा शुभकामना संदेश दिनुभएको छ।

आज राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना संदेशमा भनिएको छ:

इसाई धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये ईस्टरको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन र संरक्षण गर्ने हामीलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो । ईस्टर पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन भूमिका खेल्ने मैले विश्वास लिएको छु ।
यस्ता पर्वहरूले बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको छ । यसलाई अझ समुन्नत र परिस्कृत तुल्याउनु सबै नेपालीको कर्तव्य हो भन्ने मलाई लाग्छ ।
अन्त्यमा, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासहित इसाई धर्मावलम्बीलगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
मितिः २०८० चैत्र १३ गते

यही आउँदो आइतबार नेपाललगायत विश्वभरि ख्रीष्ट पुनरुत्थान अर्थात् इस्टर महोत्वस हर्षोल्लाहका साथ मनाइँदै छ भने शुक्रबार गुडफ्राइडे मनाइँदै छ।

राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना संदेशको पूर्णपाठ: