दोधारा चाँदनी (कञ्चनपुर): अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित समाजकल्याण अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् ।

तत्कालीन जिल्ला विकास समितिले वार्षिकरुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको भए पनि पछिल्ला वर्षमा राज्यस्तरबाट कुनै सहयोग नभएको समाजकल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले जानकारी दिनुभयो । “सरकारले दिने अनुदान रकम स्थानीय सरकार आइसकेपछि बन्द हुँदा अनाथालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको छ”, अध्यक्ष जोशीले भन्नुभयो, “अहिले दाताहरुको भरमा अनाथालय सञ्चालन भइरहेको छ ।” उहाँले अनाथालयमा हाल २४ बालबालिका आश्रित रहेको बताउनुभयो । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुँदै आएको उहाँको भनाइ छ । “भवन अभाव हुँदा जीर्ण भवनमा बालबालिका राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोगका निम्ति आग्रह गरेका छौँ ।” उहाँले अनाथालयमा आश्रय लिएर पढेका धेरै बालबालिका सरकारी सेवामा प्रवेश भइसकेको बताउनुभयो ।

अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडा लगायतको सहयोगले अनाथालय चलिरहेको उहाँको भनाइ छ । “जन्मदिन, विवाह उत्सवलगायत खुसीमा यहाँ दाता सहयोग गर्छन्”, उहाँले भन्नुभयो, “यहाँका नागरिकले अनाथालय सञ्चालनमा महत्वपूर्ण सहयोग गरेका छन् ।” अनाथालयमा हाल एक सय ९३ टुहुरा बालबालिकालाई आश्रय लिएका छन ।