काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

यसपालीको परीक्षामा छात्रातर्फ २ लाख ३१ हजार ५०३ जना र छात्रतर्फ २ लाख ३३ हजार २७० गरी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए । जसअनुसार छात्र १ लाख १४ हजार ४८ र छात्रा १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) भएका छन् भने बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
५२.१३ प्रतिशत अनुत्तीर्ण भएका छन् भने ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा छात्र र छात्राबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् ।

बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १/१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ ।
परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताए ।
यस्तै बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ ।
यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सत्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

विषयगत आधारमा अंग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसंख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

सबभन्दा बढी गणितमा अनुत्तीर्ण

यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ। गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ। यस्तै विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा शर्माले बताए।

सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ। दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ।

साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ। पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा शर्मा बताउँछन्। उनका अनुसार माथिल्लो जिपिए ल्याउनेको संख्या बढेसँगै नतिजा सुधार भएको हो। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन्। सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन्।

त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार दुई सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार आठ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार एक सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन्।

प्रदेशको नतिजा

आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार आठ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार आठ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार तीन सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार दुई सय २४ जनाको ननग्रेड (एनजी) आएको छ।

मधेश प्रदेशमा ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार दुई सय ८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार नौ सय ८८ जना सहभागी भएकामा ३९ हजार आठ सय ९५ जनाको ननग्रेड (एनजी) आएको छ।

गण्डकी प्रदेशमा ४० हजार पाँच सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार दुई सय ७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार तीन सय ८० जनाको ननग्रेड आएको छ।

सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार चार सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार चार सय १० जनाको ननग्रेड आएको छ। उनीहरुले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ। पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।