उच्च अदालत पाटनको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः आरम्भ गरेको छ। बुधबार बिहानैदेखि महानगरपालिकाले फुटपाथ विस्तारको कार्यलाई तिब्रता दिएको छ।
यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधका कारण रोकिएको यो कार्य उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश जारी गरेपछि पुनः सुरु भएको हो।
महानगरपालिकाले सडकलाई पैदलयात्रीमैत्री बनाउन जेठ ११ गते बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर काम थालेको थियो। तर, डिभिजन सडक कार्यालयले १२ गतेदेखि काममा अवरोध पुर्याएको थियो। अवरोधपछि १३ र १६ गते दुईवटा पत्र पठाएर काम रोक्न भनिएको थियो।
महानगरपालिकाले डिभिजन कार्यालयको पत्रलाई अनुचित भन्दै जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। रिट निवेदनमा महानगरपालिकाले न्युरोड बजार क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना रोकिएको उल्लेख गर्दै उपचार र अन्तरिम आदेशको माग गरेको थियो।
महानगरपालिकातर्फबाट कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले बहस गरेका थिए भने डिभिजन कार्यालयतर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता गणेश पौडेल, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल र अधिवक्ता आशिष अधिकारीले बहस गरेका थिए।
महानगरपालिकाले यसअघि नै न्युरोडको सडकको पार्किङ हटाएर फुटपाथ विस्तारको काम अघि बढाएको थियो, जसलाई डिभिजन कार्यालयले अवरोध गरेपछि महानगरले पुनः अदालतको आदेश पाएपछि काम पुनः सुरु गरेको हो।
अदालतको आदेशसँगै फुटपाथ विस्तारको काम पुनः सुरु भएकोमा स्थानीय व्यवसायी र बासिन्दाहरुले स्वागत गरेका छन्। उनीहरुले सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाको प्रयासको प्रशंसा गर्दै समयमै काम सम्पन्न होस् भन्ने आशा व्यक्त गरेका छन्।
महानगरपालिकाले यस कार्यलाई शीघ्र सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ। फुटपाथ विस्तार भएपछि न्युरोड क्षेत्रमा पैदलयात्रा सजिलो हुने महानगरपालिकाको विश्वास छ। यस कार्यले न्युरोड क्षेत्रको सौन्दर्य पनि बढाउनेछ।
अहिले महानगरपालिकाले न्युरोडमा मात्रै नभएर काठमाडौँका अन्य प्रमुख स्थानहरूमा पनि यस्ता फुटपाथ विस्तारका कार्यहरू थाल्ने योजना बनाएको छ। यसका लागि महानगरले सर्वसाधारण, व्यवसायी, र अन्य सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा राखेको छ।