सिड्नी, अष्ट्रेलिया –

नेपाली समुदायका सक्रिय समाजसेवी र ग्लोबल गस्पेल मिनिस्ट्री का संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई Universal Peace Federation (UPF) द्वारा प्रदान गरिने “Living for Others Award 2024” बाट सम्मानित गरिने भएको छ। समाजसेवामा समर्पित व्यक्तिहरूलाई प्रदान गरिने यस प्रतिष्ठित पुरस्कारले रायमाझीको निःस्वार्थ सेवा, नेतृत्व क्षमता, र समर्पणलाई उच्च मूल्याङ्कन गरेको छ।

पुरस्कार समारोह आगामी नोभेम्बर ३०, शनिबार साँझ ६:०० बजे, Oceania Peace Embassy, ८२६ जर्ज स्ट्रिट, रेजेन्ट स्ट्रिट प्रवेशद्वार, सिड्नीमा आयोजना हुनेछ। रायमाझीका परिवार, शुभचिन्तक, तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने यो कार्यक्रम समाजसेवाको कदर गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।

UPF का एक प्रतिनिधिले भने, “केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।”

नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्। ग्लोबल गस्पेल मिनिस्ट्री को नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याएका छन्।

रायमाझी बचन न्यूज का सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा योगदान दिँदै आएका छन्। साथै, सिड्नीको गस्पेल नेपाली चर्च का प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

उनको सक्रियता NRNA अष्ट्रेलिया र NAYA अस्ट्रेलिया जस्ता संस्थाहरूमा पनि देखिएको छ, जहाँ उनले नेपाली समुदायको समृद्धि र एकताको लागि उल्लेखनीय भूमिका खेलेका छन्।

रायमाझी हाल सिड्नीको ओबर्नमा आफ्नी पत्नी सुरक्षा र दुई सन्तान, ८ वर्षकी छोरी जोआना र १ वर्षका छोरा जेसनसँग बस्दै आएका छन्।

रायमाझीलाई प्रदान गरिने यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ। “अरूका लागि बाँच्ने” विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवाभावलाई प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

समारोहमा सहभागी भई रायमाझीको यस ऐतिहासिक क्षणलाई साक्षी बनाउन आयोजकले सबै शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।