ललितपुर – २०८१ पुस ५ गतेका दिन राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल सरकारमा दर्ता हुन सफल भएको छ। Well Being Bakery Cafe, भैँसीपाटी मा आज गरिएको पत्रकार सम्मेलनमा यो गुठी दर्ता भएको र अब नेपाली चर्चहरूले स्थानीय तहबाट सिफारिस लिएर जिल्ला मालपोत कार्यालयमा चर्च निजी गुठी दर्ता गरी आफ्ना सम्पत्तिहरूको उचित संरक्षण गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।
चर्च सम्पूर्ण इसाई समुदायको साझा र निजी सम्पत्ति हो र यसलाई कुनै व्यक्तिको नाममा हुनबाट जोगाउँदै मण्डली स्वच्छ र स्वतन्त्र भएर आराधना गर्न पाउनुपर्छ भन्ने उद्देश्यले यो गुठी दर्ता गरिएको आयोजक समितिले जनाएको छ। ” त्यस गुठीले निश्चित धार्मिक समुदायको मात्र प्रतिनिधित्व गर्दछ । समूहभित्र रहेका सदस्यहरूको अधिकतम लाभ, धार्मिक सेवा, चाड पर्व, परम्परा र संस्कृति संरक्षण, प्रवर्धन, विकास र पहिचान गर्न स्वतन्त्र अधिकार प्रदान गरिएको हुन्छ। राज्य तथा सरकारको प्रत्यक्ष निगरानी नहुने र गुठी आफैलाई सम्पूर्ण अधिकार सम्पन्न हुने भएकोले आवश्यकता अनुसार गुठी समितिको निर्णयमा गुठीको सम्पत्ति खरिद बिक्री गर्न सकिने हुन्छ। यसकारण नेपाली चर्चहरू निजी धार्मिक गुठीमा नै दर्ता हुन आवश्यक छ। ” अध्यक्ष सोदेम्बाले बताए।
नेपालको संविधान २०७२ अनुसार हरेक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको छ। प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक अधिकार यसै संविधानको भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा २६ मा स्पष्ट लेखिएको छ। यही संविधानको सदुपयोग गर्दै धार्मिक गुठी नै मण्डलीहरूको लागि उचित व्यवस्था हो भन्ने कुरा राष्ट्रिय गिर्जाघर चर्च निजी गुठी नेपालका अध्यक्ष रेभ. सामुएल सोदेम्बाले बताए। उनले भने, ” आज हजारौं सङ्ख्यामा रहेका चर्च र क्रिस्टियन संघ-संस्थाहरूलाई निजी धार्मिक गुठीमा दर्ता गर्नुपर्ने हाम्रो जिम्मेवारी छ। प्रत्येक स्थानीय तहमा अवस्थित चर्चहरूलाई निजी धार्मिक गुठीको रूपादर्ता प्रक्रियामा आवश्यक सहयोग गर्न हामी संगठित रणनीतिक रूपमा निरन्तर लागिरहने छौं।”