श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिने कामका ठगी लगायतका विभिन्न खालका झमेला व्यहोर्नुपरिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको समेत स्पष्ट पारे ।
उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको बिदेसिन बाध्य हुनु परेको समेत स्पष्ट पारे । उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए ।
मन्त्री भण्डारीले भने ‘यहाँको स्ट्रगलसँग हार खाएर गिवअप गरेको हो त्यो । यहाँ सङ्घर्ष पर्याे, सारा पर्याे । अब सक्दैन भनेर भाग्न थाल्यो के विदेश । भाग्न थाल्यो भन्ने सोच आउने बित्तिकै त्यहाँ दलाल सुरु हुन्छ । त्यसलाई त्यही गाउँपालिकामा नै राज्य उपस्थित हुनु पर्दैन रु पछि हामी त्यसमा निष्कर्ष निकाल्दैछौँ त्यसमा । के त ? वेलफेयर स्टेट त जहाँ पनि अमब्रेला बनेर आउनुपर्याे नि । तिमी विदेश जाँदै छौ ? ल तिम्रो पाटपोर्टलगायत यो हो । यो लोन ल । अब त निब्र्याजी पाएपछि त त्यहाँबाट उम्किन पायो नि त । यो के हुन्छ मैले वर्कआउट गरिराखेको छु । म सचिवजीसँग पनि सल्लाह गरौला । यो श्रम स्वीकृतिलगायतका सबै चिज त्यो वडावडाबाट दिए हुँदैन ? किन हामी यस्ता झमेलाहरू सृजना गरिरहन्छौ ? यो त पर्सनल इनिसिएशनमा हुने भयो के काम । राज्य खै त त्यहाँ ? यो कुरा एकदमै ल्याकिङ भएको छ साथीहरू ।’
मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताए । त्यस अवसरमा उनले युवाहरूलाई देशभित्र श्रम गरेर केही गर्ने सङ्कल्प गर्न पनि आग्रह गरे । नेपाली युवाहरूमा माग बढी तर काम नगर्ने प्रवृत्ति समस्याको रूपमा रहेको उनको भनाई थियो ।












