शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरूको आरोप छ ।

शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । मधेसी शहीद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिवारसम्म आफूहरूको माग सम्बोधनमा सरकारले गम्भीरता नदेखाए आन्दोलन गर्ने बताए ।

सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरूलाई महसुस भएको उनीहरूको भनाइ छ । मधेसी शहीद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरू प्रतिष्ठानमा आएको ७÷८ महिना भइसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे । गृह सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरूलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए ।

मधेसी शहीद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौँ बितिसक्दा समेत ऐन मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताए ।