काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौँमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताए । हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उनको जिकिर छ ।

उनले भने, ‘‘अहिले पार्टीभित्र देखिएको विवादको समाधानको शुत्र कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय जुन छ त्यही हो । केन्द्रीय कार्यसम्पादन समितिले अहिले गरिएका कुनैपनि भेला र कार्यक्रमको औचित्य देखेको छैन ।’’

नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्षबाट सहमति, संवाद र एकताको ढोका सधैं खुला रहेको बताए । उनले पार्टीलाई एकजुट बनाएर मुलुकलाई स्थिरता दिन र वर्तमान सङ्कटबाट नागरिकलाई मुक्त गराउन कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टी पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि मात्र पार्टी महाधिवेशन गर्ने निर्णयअनुसार नै पार्टी अघि बढ्ने उनको भनाइ छ ।

नेता श्यामकुमार घिमिरेले महामन्त्रीहरूले चालेका कदमले पार्टीभित्र सकारात्मक सन्देश दिन नसकेको बताए । उनले पार्टीको जिम्मेवार पदमा बसेर महामन्त्रीद्वयले पार्टीलाई फुट र विभाजनतर्फ धकेल्नुहुन्न भन्ने कुरामा आश्वस्त रहेको बताए । उनले अगामी वैशाखमा हुने पार्टीको नियमित महाधिवेशनमा प्रतिस्पर्धा गर्नका लागि तयारी गर्न समेत महामन्त्रीद्वयलाई आग्रह गरे ।

संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी छ । उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ ।