काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नभएका व्यक्तिलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।

झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले धितो–जमानी बिना नोट नछाप्ने उदाहरण दिँदै मत हाल्दा पनि भरोसायोग्य व्यक्तिलाई मात्र मतदान गर्नुपर्ने जिकिर गरे । उनले २०६४ सालमा नचिनेको व्यक्तिलाई मत दिँदा विकासको गति सुस्त भएको स्मरण गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरअगाडि सडक र पुल निर्माण गरिदिएको दाबी गर्दै झापाका लागि शाहले के योगदान पुर्‍याएका छन् भन्ने प्रश्न गरे । काठमाडौँमा सुकुम्वासी बस्ती हटाइएको घटनालाई देखाएर झापाका सुकुम्वासीहरू आफूहरूलाई पनि विस्थापित गरिने हो कि भन्ने डरमा रहेको गुनासो आएको उनले बताए ।

उनले हरेक निर्वाचन क्षेत्रमा ‘पर्यटक उम्मेदवार’ नभई स्थानीय उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) बहुमत ल्याउन, पद प्राप्त गर्न मात्र नभई देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न र संविधानलाई सही लयमा ल्याउन संघर्षरत रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, “हामी बहुमत ल्याउन, सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्र संघर्ष गरिरहेका छैनौँ । देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न, सुशासन र विकास ल्याउन तथा संविधानलाई ट्रयाकमा ल्याउन संघर्ष गरिरहेका छौँ । २०६४ सालमा नयाँलाई भोट दिँदा विकासको स्वाद तीतो भयो । न विकास भयो, न जनतासँग सम्पर्क। त्यसले विकासलाई पछाडि धकेल्यो ।”

सामाजिक सञ्जालमा फैलाइएका भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे । बालेन्द्र शाह उम्मेदवार मात्र भएको उल्लेख गर्दै त्यसले देशलाई कुनै क्षति नपुग्ने उनको भनाइ थियो ।