एपोलो हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन हो। कम्पनीले फागुन ११ गतेदेखि श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी आईपीओ निष्काशन सुरु गरेको थियो।

कम्पनीले यस समूहका लागि कुल ९४ हजार कित्ता शेयर छुट्याएको छ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। उक्त आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्रमा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अध्यक्ष आङ तेन्जी शेर्पा रहेका छन् भने सञ्चालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ तथा स्वतन्त्र सञ्चालकका रूपमा विष्णु प्रसाद अधिकारी रहेका छन्।