काठमाडौँ । सङ्घीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।
बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।
गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको
छ ।
त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबिच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो ।