धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिएका नारायणदत्त भट्टविरुद्ध उजुरी परेको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

उनी विरुद्ध नेकपा एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन् । उनको अपाङ्गता परिचय पत्र नै अवैधानिक रहेकोले खारेजीको माग गर्दै जोशीले उजुरी दिएका हुन् । भट्टले स्थानीय अपाङ्गता समन्वय समितिको निर्णय विना परिचय बनाएर उम्मेदवार बनेर ठगी गरेको जोशीको आरोप छ ।

जोशीले भने, ‘स्थानीय अपाङ्गता समन्वय समितिले कसलाई परिचय दिने नदिने निर्णय गर्छ । तर उहाँले समितिको निर्णयविना मनोनयनकै दिन परिचय पत्र बनाएर मनोनयन गराउनु भयो । यो सरासर ठगी हो ।’

त्यस्तै कांग्रेस उम्मेदवार भट्टले अपाङ्गता भएको प्रमाणित गृह मन्त्रालयले उहिले नै गरिसकेकोले त्यसको आधारमा यहाँबाट पनि परिचयपत्र बनाएको रातोपाटीलाई बताए । कुरै नबुझेर आफू विरुद्ध उजुरी दिएको उनको भनाइ छ । भट्ट कांग्रेस कैलाली जिल्ला सभापति पनि हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले पुस २६ गतेभित्र निर्णय गरिसक्नुपर्ने छ ।